About Us

शिक्षा, सूचना तथा प्रशिक्षणसंग समबन्धित कृयाकलापहरुका माध्यमबाट देशको सहकारी क्षेत्रमा आबद्ध जनशक्तिहरुको क्षमता अभिबृद्धि गर्ने तथा सहकारी क्षेत्रमा केन्द्रीत रही अध्ययन, अनुसन्धान एवं विकासमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने मूलभूत उद्देश्यका साथ केन्द्रीय सहकारी प्रशिक्षण केन्द्र स्थापित एवं संचालित छ । सहकारी संघ संस्थाका संचालक पदाधिकारी, सहकारी क्षेत्रको नियमन, अनुगमन एवं व्यवस्थापन गर्ने प्रमुख निकाय सहकारी तथा गरिबी निवारण मन्त्रालय, सहकारी विभाग तथा उक्त विभाग मातहत देशको विभिन्न स्थानमा रहेका कार्यालयहरुमा कार्यरत कर्मचारीहरु समेतलाई प्रशिक्षण प्रदान गरी उनीहरुको ज्ञान, सिप र धारणामा सकारात्मक परिवर्तन ल्याउने जिम्मेवारी सहित वि.सं. २०१९ सालमा यस केन्द्रको स्थापना गरिएको हो । काठमाण्डौको नयां वानेश्वरमा २१ रोपनी क्षेत्रफलमा रहेको यस केन्द्रमा पुरुष तथा महिला छात्रवास, चमेना गृह, प्रशिक्षण कक्षहरुका अलावा पुस्तकालय एवं प्रशिक्षक आवास समेत रहेका छन् । स्थापना काल देखि हाल सम्म यस केन्द्रले नेपाल सरकारबाट स्वीकृत वार्षिक कार्यक्रमको परिसिमा भित्र रही आफ्ना कृयाकलापहरु सम्पादन गर्दै आईरहेको छ । यस क्रममा करिब २० हजार जनशक्तिलाई प्रशिक्षण सेवा प्रदान गरिसकेको छ ।

 परिकल्पना (Vision)
“देशमा सुशासनयुक्त सहकारी संस्कृतिको निर्माण” रहेको छ ।

 ध्येय (Mission) 
शिक्षा, सुचना, तालिम र अनुसन्धानमूलक क्रिर्याकलापहरुलाई आधुनिक एवं बैज्ञानिक बनाउदै सहकारी क्षेत्रमा आबद्ध जनशक्तिको व्यवस्थापकीय क्षमतामा गुणस्तरीय परिवर्तनको सुनिश्चितता ल्याउने ।

 

लक्ष्य तथा उद्देश्य (Goal and Objective) 

मन्त्रालय अन्तर्गत रहने सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रको कार्य विवरण देहाय बमोजिम रहेको छ ।

  • संघ, प्रदेश तथा स्थानीय तहमा सहकारी नियमनका संलग्न कर्मचारीहरुको लागि प्रशिक्षणका कार्यक्रम तर्जुमा गरी संचालन गर्ने
  • विभिन्न संघसंस्था तथा निकायहरुबाट संचालन हुने सहकारी शैक्षिक क्रियाकलापको प्रमाणीकरणमा आवश्यक सहयोग पुर्याउने
  • विद्यालय तथा विश्वविद्यालय तहमा संचालन हुनेसहकारी शैक्षिक कार्यक्रममा सहयोग पुर्याउने
  • स्थानीय तह तथा प्रदेश सरकारबाट संचालन हुने सहकारी शिक्षा तथा प्रशिक्षणका कार्यक्रमहरुमा सहयोग पुर्याउने
  • सहकारी प्रशिक्षणको स्तरोन्नतिका लागि आवश्यक अनुसन्धान तथा व्यवस्थापन परामर्शका कार्यहरु गर्ने
  • सहकारिता प्रवद्र्धन तथा विकासको लागि उपयुक्त तालिम नीति तथा कार्यक्रमको तर्जुमा गर्ने,
  • आवधिक योजना र क्षेत्रगत नीति, रणनीति तथा लक्ष्यहरूको परिधिभित्र रहेर केन्द्रीय एवं क्षेत्रीयस्तरमा सहकारी प्रशिक्षणको वार्षिक कार्यक्रमहरू तर्जुमा गर्ने,
  • सहकारी प्रशिक्षण कार्यक्रमहरूलाई मागमा आधारित एवं उपलब्धि मूलक तुल्याउन पाठ्यक्रम तथा प्रशिक्षण विधिहरूको परिमार्जन गर्ने गराउने,
  • स्वीकृत कार्यक्रम बमोजिमका प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गरी गराई नियमित रूपमा अनुगमन गर्ने,
  • सहकारी सम्बद्ध संघ संस्थाहरूसँगको साझेदारीमा प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गर्ने गराउने,
  • प्रशिक्षण सम्बन्धी आवधिक प्रतिवेदनहरू तयार गर्ने, गराउने,
  • प्रचलित कानुन र प्रत्यायोजित अख्तियारी बमोजिम प्रशिक्षण केन्द्रको कर्मचारी प्रशासन, आर्थिक प्रशासन र आन्तरिक प्रशासन सम्बन्धी कार्यहरू गर्ने,
  • तोकिए बमोजिमका अन्य कार्यहरू गर्ने गराउने ।